काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु हुनेछ ।
बैठकको सुरुमा प्रस्तावित राजदूतहरु उपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
उजुरीकर्तासँगको छलफल सकिएपछि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु हुनेछ ।
समितिले सुनुवाइका लागि भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र संयुक्त अधिराज्यका गौरव शमशेर जबरालाई आमन्त्रण गरेको छ ।




















