काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू नियमित १५औँ महाधिवेशनको तयारी गरिरहेको बताएका छन्। १४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको उनको जिकिर छ।
सोही आधारमा १५औँ महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख गर्दै नेता सिंहले शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर सभापति घोषणा गर्दैमा त्यो मान्य नहुने बताए। साथै, उनले पार्टी पदका आकांक्षी धेरै देखिएको अवस्थामा पार्टीमा विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई चयन गर्न सुझाव दिए।
यसैगरी, कांग्रेस नेता मोहनबहादुर बस्नेतले देशभरका नेता तथा कार्यकर्ताहरू पार्टीको क्रियाशीलता र संगठन विस्तारका लागि लड्न तयार रहेको उल्लेख गरेका छन्। संस्थापनइतर समूहका केही व्यक्तिहरू कारबाहीको डर र धम्कीका कारण अर्को पक्षमा गएको बस्नेतको भनाइ छ।
यद्यपि, केही दिनपछि कांग्रेसका अधिकांश नेताहरू आफ्नै पक्षमा आउने दाबीसमेत उनले गरेका छन्।




















