काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा उपसभापति र महामन्त्री पदको मतगणना एकसाथ सुरु भएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना तीन ठाउँमा भइरहेको छ। प्रत्येक मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको छ ।
यसअघि शुक्रबार राति सम्पन्न सभापति पदको मतगणनाबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन् । उनले प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै ६ हजार ५८४ मत प्राप्त गरेका थिए । खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।
सभापति पदको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गरिएको थियो। अब उपसभापति र महामन्त्री पदको मतपरिणामका लागि मतगणना जारी रहेको छ ।




















