काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
चौधरीले मंगलबार समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ।
केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।
महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन्।




















