काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईको विमानमार्फत काठमाडौं आएका भारतको केरलाका मोहम्मद चेरा ठोदीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।
विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार बरामद सुन अर्धठोस अवस्थामा रहेको छ। सुरक्षा जाँचका क्रममा उनले लगाएको भित्री वस्त्र (पेन्टी) भित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ठोदीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी सिलवालले जानकारी दिए।




















