भारतको कर्नाटकस्थित बेलागावीमा फ्रिज विस्फोट भएर घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
बजार प्रहरी चौकी क्षेत्रअन्तर्गत चावत गल्लीमा मंगलबार बिहान भएको घटनामा भारती धामोने (५०), शारदा धामोने (४५), गंगा धामोने (२५) र प्रिया धामोने (२४) को मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा गजानन धामोने (६५) र रोशन धामोने (२१) गम्भीर रूपमा जलेका छन्। उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार मृतक शारदा गजाननकी श्रीमती तथा भारती उनकी बहिनी हुन्। गंगा र प्रिया गजानन र शारदाका छोरी तथा रोशन उनीहरूका छोरा हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार घरभित्र राखिएको फ्रिज विस्फोट भएपछि आगलागी भएको थियो। आगो तीव्र रूपमा घरभरि फैलिँदा भित्र रहेका परिवारका सदस्यहरू बाहिर निस्कन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धामोने परिवार गणेश चतुर्थी मनाउने तयारीमा थियो। उनीहरूले पूजाका लागि घरभित्र भगवान् गणेशको मूर्ति राखेका थिए। खाना खाएपछि परिवारका सदस्यहरू फ्रिज नजिकै सुतेका थिए।
स्थानीयका अनुसार मंगलबार बिहान करिब २ः१५ बजे ठूलो विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि स्थानीयवासी घटनास्थलमा पुग्दा घरमा आगो लागेको देखेपछि उद्धारमा जुटेका थिए।
स्थानीयवासीले गजानन र रोशनलाई घरबाट बाहिर निकाल्न सफल भए पनि अन्य चार जनालाई भने बचाउन नसकिएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




















