काठमाडौँ । ओमानको तटनजिकै आइतबार व्यापारिक जहाजमा आक्रमण हुँदा एक भारतीय नागरिक बेपत्ता भएका छन्। जहाजमा रहेका भारतीय चालक दलका १४ सदस्यमध्ये १३ जनाको भने सुरक्षित रूपमा उद्धार गरिएको छ।
‘एमटी एल गाइया’ नामक व्यापारिक जहाजमा आक्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। घटनापछि ओमानस्थित भारतीय दूतावासले ओमानी अधिकारीसँग समन्वय गर्दै बेपत्ता भारतीय नागरिकको खोजी गरिरहेको मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै व्यापारिक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको छ। मन्त्रालयका अनुसार दूतावासले घटनाको निरन्तर निगरानी गरिरहेको छ।
भारतले सम्बन्धित पक्षहरूलाई क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न वार्ता तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रहसमेत गरेको छ।




















