काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धा, सम्मान र भक्तिपूर्वक मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसीका अवसरमा आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा परिकार खुवाएर सम्मान प्रकट गर्दै आशीर्वाद लिने परम्परा छ । बाबु दिवंगत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर पितृका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्ने चलन छ ।
कुशे औँसीका दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भिœयाउने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार घरमा कुश राख्दा परिवारको कल्याण हुने विश्वास गरिन्छ । सनातन धर्मावलम्बीहरूले कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा श्रद्धा गर्ने गर्छन् ।
‘पितृ देवो भवः’ भन्ने वैदिक मान्यताअनुसार जन्म दिने बाबुलाई श्रद्धा, सम्मान र सत्कार गर्ने दिनका रूपमा पनि कुशे औँसीलाई लिइन्छ । बाबु परलोक भइसकेकाहरूले काठमाडौंको गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गर्ने गर्छन् । यसो गर्दा पितृप्रति श्रद्धा अर्पण हुनुका साथै पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन परम्परामा जन्म दिने आमाबाबु तथा शिक्षा प्रदान गर्ने गुरुलाई जीवित देवताका रूपमा सम्मान गर्ने गरिन्छ । त्यसैले कुशे औँसी केवल बाबुलाई सम्झने दिन मात्र नभई पितृप्रति श्रद्धा, कृतज्ञता र पारिवारिक संस्कारलाई निरन्तरता दिने महत्त्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ ।
युवाकवि मोतीराम भट्टको जन्मजयन्ती पनि आज
नेपाली साहित्यका विशिष्ट व्यक्तित्व तथा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रमबीच मनाइँदै छ । साहित्यिक संघ-संस्था तथा प्रतिष्ठानहरूले उनको व्यक्तित्व र कृतित्वमाथि चर्चा, परिचर्चा तथा साहित्यिक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउँदै छन् ।
राष्ट्रिय विभूतिको सम्मान पाउनुभएका भट्टको जन्म वि.सं. १९२३ भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीकै दिन भएको थियो । नेपाली गजलका महानायकका रूपमा परिचित भट्टले कविता, गजल, गीत, कथा, नाटक, निबन्ध, जीवनी तथा पत्रकारिता लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
संयोगवश उनको निधन पनि वि.सं. १९५३ को कुशे औँसीकै दिन भएको थियो । जम्मा ३० वर्षको अल्पायुमा निधन भए पनि नेपाली साहित्यमा उनले छाडेको योगदान भने दीर्घकालसम्म स्मरणीय रह्यो ।
श्रृंगार रसलाई केन्द्रमा राखेर गजल सिर्जना गर्नुभएका भट्टलाई नेपाली गजल परम्पराको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने साहित्यकारका रूपमा लिइन्छ । उनले आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र पहिलो पटक प्रकाशनमा ल्याएका थिए । भानुभक्तीय रामायणको अनुवाद तथा सम्पादनमा समेत उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
साहित्य सिर्जनासँगै पत्रकारितामा पनि सक्रिय भट्टले नेपाली भाषाको प्रारम्भिक पत्रकारिताको विकासमा योगदान पुर्याउनुभयो । उहाँले ‘गोर्खा भारत जीवन’ नामक पत्रिका प्रकाशन गरेका थिए ।
भट्टका प्रकाशित कृतिहरूमा मनोद्वेग-प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, प्रल्हाद भक्तिकथा, गफाष्टक, उषाचरित्र, तीजको कथा, उखानको बखान, गुलसनाबेर, बालाजी वर्णन, चाणक्य नीति, कमल भ्रमर संवाद, काशीराज चन्दसेन, संगीत चन्द्रोदय, स्वप्नाध्याय, प्रियदर्शिका, पिकदूत, कालमहिमा, शकुन्तला, कविसमूह वर्णनम् तथा कवि भानुभक्तको जीवनचरित्रलगायत रहेका छन् ।
कविता, काव्य, नाटक, गजल, गीत, जीवनी, पत्रकारिता, संवाद र सम्पादनजस्ता विविध विधामा कलम चलाएका भट्टका दुई दर्जनभन्दा बढी फुटकर कविता तथा थुप्रै गजल र गीतसमेत प्रकाशित छन् ।
यसरी कुशे औँसीले एकातिर पितृप्रति श्रद्धा र बाबुप्रतिको सम्मानको भावलाई उजागर गर्छ भने अर्कोतिर यही दिन जन्मिएका युवाकवि मोतीराम भट्टको साहित्यिक योगदानलाई स्मरण गर्ने अवसरसमेत प्रदान गर्छ । नेपाली समाजमा संस्कार, संस्कृति र साहित्यको संगमका रूपमा समेत आजको दिनलाई विशेष महत्त्वका साथ हेरिन्छ ।




















