काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा जारी छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित आयोजना गरिएको महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू खुलामञ्चमा भेला भएका छन्।
उद्घाटन समारोहमा सहभागी हुन कांग्रेसका नेता–कार्यकर्ता पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरेका थिए । विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकी प्रदर्शन गरेका थिए ।
महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकका साथै अन्य पार्टीका नेताहरु पनि शुभकामना दिन पुगेका छन ।
शुभकामना दिन पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायत पुगेका छन् ।
महाधिवेशनको उद्घाटन सत्रपछि सोमबार र मंगलबार बन्दसत्र तथा अन्य कार्यक्रम हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रम तय गर्नेछ।
नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।





















