काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको उल्लेख गरे ।
सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै उनको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु”, संयोजक दाहालले भने ।
संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उनको भनाइ थियो ।
सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
संयोजक दाहालले आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको भन्दै त्यसलाई टुङ्ग्याउन वर्तमान सभापति थापा लाग्नुपर्ने बताए ।
“शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ”, उनले भने । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।




















