काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जननायक बिपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उपसभापति शर्माले १५औँ महाधिवेशनपछि रुपान्तरणसहित अझ बलियो, सशक्त, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर कांग्रेस अघि बढ्छ भने । गत फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै उपसभापति शर्माले देश र जनताका पक्षमा चालिने हरेक कदममा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट गरे ।
उनले राष्ट्रिय हित र सरोकारका विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनमा उठेका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने धारणा व्यक्त गर्दै उपसभापति शर्माले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।
“नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल, यी दुवै नेपाललाई जोड्नुपर्छ”, शनले भने, “विदेशमा रहेका नेपालीले मातृभूमिको विकासमा लगानी गर्न चाहेका छन् । उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न पार्टी तयार छ ।”
उनले सामाजिक सञ्जालको दुरुपयोग भई वितृष्णा सिर्जना भइरहेकामा चिन्ता व्यक्त गर्दै मुलुकको विकास र समृद्धिका पक्षमा जिम्मेवार पक्षका बीच आपसी संवाद, सद्भाव र एकताको खाँचो रहेको बताए । अविश्वास र वितृष्णाभन्दा माथि उठी मुलुकको भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने समय आएको उनको भनाइ छ ।
विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनजी पुस्तासहित ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको जानकारी दिए ।
उनले परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने लक्ष्यका साथ पार्टी अघि बढेको स्पष्ट गरे । उपसभापति शर्माले १५औँ महाधिवेशनले कांग्रेसलाई सङ्गठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने बताए ।




















