काठमाडौं । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्टास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ।
ज्वालामुखीय खरानीका कारण विमानस्थलमा उडान सञ्चालन केही समय रोकिँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी २०९ वटा उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ।
शुक्रबार रातिदेखि अनाक क्राकाटाउमा विस्फोट भइरहेको छ। विस्फोटबाट निस्किएको खरानी इन्डोनेसियाको सुमात्रास्थित लाम्पुङ र जाभाको बान्टेनलगायत क्षेत्रमा फैलिएको छ। खरानीको बादल ५० हजार फिटसम्मको उचाइमा पुगेको अधिकारीहरूले बताएका छन्।
खरानीका कारण स्थानीय जनजीवनसमेत प्रभावित भएको छ। केही विद्यालयका गतिविधि स्थगित गरिएका छन् भने माछा मार्ने काम पनि रोकिएको छ। स्थानीय बासिन्दाले आँखामा जलन तथा दृश्यता कम भएको गुनासो गरेका छन्।
विपद् व्यवस्थापन अधिकारीहरूले भने तत्काल सुनामीको जोखिम नरहेको बताएका छन्। नागरिकलाई सतर्क रहन तथा ज्वालामुखीय खरानीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।




















