काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ।
पर्यटनमन्त्री खडकराज पौडेलले संसदीय समितिको बैठकमा रसुवा बाढीले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिँदै क्षतिको प्रारम्भिक मूल्याङ्कन करिब ५० अर्ब रुपैयाँभन्दा बढी रहेको बताएका हुन्। उनले सम्बन्धित सबै पर्यटन व्यवसायीलाई आफ्नो क्षतिको विवरणसहित प्रतिवेदन पेस गर्न आग्रह गरिएको जानकारी दिए।
मन्त्री पौडेलका अनुसार बाढीका कारण १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधनमा क्षति पुगेको छ। यस्तै, २७ वटा सम्पदामा पनि क्षति पुगेको उनले बताए।
बाढीले लाङटाङ, गोसाइँकुण्ड, पार्वती कुण्ड र नाचेली लगायतका प्रमुख पदमार्गमा समेत ठूलो क्षति पुर्याएको मन्त्री पौडेलले जानकारी दिए। यसले तत्कालीन पर्यटन गतिविधिसँगै आगामी पर्यटकीय आवागमनमा समेत असर पार्न सक्ने देखिएको छ।
यसैबीच, उद्धार तथा राहत कार्यलाई सहज बनाउन निजी हवाई उडानलाई व्यवस्थित गरिएको मन्त्री पौडेलले बताए। उनका अनुसार हाल दैनिक पाँच वटासम्म निजी उडान सञ्चालन गर्न अनुमति दिइएको छ।
विपद्को समयमा पोखरा, चितवन र काठमाडौंका होटल व्यवसायीहरूले प्रभावित नागरिकलाई निःशुल्क खाना तथा बसोबासको व्यवस्था गर्ने घोषणा गरेर सहयोग र आत्मीयता प्रदर्शन गरेको पनि उनले बताए।
सरकारले पर्यटन क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गरी पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक योजना अघि बढाउने तयारी गरिरहेको जनाएको छ।




















