जकार्ता । पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले जनाएको छ । करिब पाँच हजार मानिस विस्थापित भएका छन् । उद्धार टोलीहरू अझै पहिरोले अवरुद्ध बाटो खोल्न व्यस्त छन् ।
इन्डोनेसियाको करिब २९ करोड जनसंख्या लगभग १७ हजार टापुमा बसोबास गर्छ । यो प्यासिफिक ‘रिङ अफ फायर’मा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो ।
शनिबार बिहानै आएको ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा, पूर्वी नुसा तेंगारा प्रान्तमा परेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले यसको गहिराई १० किलोमिटर बताएको छ ।
भूकम्पपछि अहिलेसम्म करिब ३४१ परकम्प आइसकेका छन् । यो पछिल्ला वर्षहरूमा इन्डोनेसियाको सबैभन्दा घातक भूकम्पहरूमध्ये एक मानिएको छ । उपस्वास्थ्यमन्त्री बेन्जामिन पाउलस ओक्टेभियानसले आइतबार भने, ‘भूकम्पमा परी ५१ जनाको मृत्यु भएको, ३६ जनालाई गम्भीर घाइते अवस्थामा भेटिएको छ भने ७७ जनालाई सामान्य चोट लागेको छ ।’
भूकम्पका कारण सिक्का क्षेत्रमा मात्र तीन हजार ३०० भन्दा बढी मानिस घर छाडेर भागेका वा अलपत्र परेका र धेरैजना खेल मैदानमा आश्रय लिइरहेका राष्ट्रिय विपद् व्यवस्थापन निकाय बिएनपिबीले जनाएको छ ।
मौमेरे बन्दरगाह ;हरमा बासिन्दाहरू भत्किएका घर अगाडि पालमुनि बसिरहेका छन् । अरूलाई अस्पताल बाहिर अस्थायी पालमा उपचार दिइएको छ ।
बिएनपिबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्तोका अनुसार भूकम्पले कम्तीमा १५७ घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने करिब २०० घर क्षतिग्रस्त भएका छन् । भूकम्पको केन्द्र नजिकको नागेकेओ क्षेत्रका करिब दुई हजार स्थानीयलाई अस्थायी आश्रयमा सारिएको छ ।
उद्धारका लागि तीन हेलिकप्टर र एउटा उद्धार जहाज पठाइएको छ । यस क्षेत्रका साना–साना टापुहरूले पहुँचलाई अझै कठिन बनाएका छन्।
भूकम्पपछि उद्धार तथा राहत वितरण व्यवस्थापनका लागि तीन हजार ५०० भन्दा बढी सेना र प्रहरी परिचालन गरिएका छन्। एक हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। विद्युत् कटौतीका कारण २० पेट्रोल पम्प बन्द भएका राज्यको ऊर्जा कम्पनी पर्टामिनाले जनाएको छ । (रासस)




















