काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यकालको सुरुवाती दिनमा लिएको अडानबाट पछि हट्दै परम्परागत कूटनीतिक शैली अंगाल्नुलाई उनको नीतिगत अस्थिरता र राजनीतिक परिपक्वताको कमीका रूपमा विश्लेषण गर्न थालिएको छ।
राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादाको चर्को नारा दिएर घरेलु सेन्टिमेन्ट क्यास गर्न खोजेका प्रधानमन्त्री शाहले सरकार सञ्चालनको चार महिना नपुग्दै पुरानै दलहरूको कार्यशैली पछ्याउनुले उनको कूटनीतिक जग कमजोर रहेको पुष्टि गर्छ । यो ‘यू-टर्न’ भूराजनीतिक दबाब झेल्न नसक्दा र ठोस तयारी बिना नै सस्तो लोकप्रियताका लागि नीति बनाउँदा कस्तो परिणाम आउँछ भन्ने कुराको बलियो उदाहरण बनेको छ।
चैत २७ मा सत्ता सम्हालेलगत्तै बालेन शाहले विदेशी नियोगका प्रमुखहरूसँग ‘एक्लाएक्लै’ नभेट्ने र सामूहिक ब्रिफिङ मात्र गर्ने जुन अडान लिएका थिए, त्यो कूटनीतिक हिसाबले व्यावहारिक थिएन। वैशाखमा भारत र चीनसहित १७ वटा देशका राजदूतलाई सिंहदरबारमा एकैसाथ राखेर सामूहिक छलफल गराउनु कूटनीतिक मर्यादा अनुकूल नभएको र यसले नेपालको अन्तर्राष्ट्रिय साखलाई कमजोर बनाएको कूटनीतिज्ञहरूको ठहर छ।
सोही अपरिपक्व नीतिका कारण अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर, राष्ट्रपतिका विशेष दूत सर्जियो गोर तथा उपविदेशमन्त्री सारा बी. रोजर्ससँगको भेटघाट रोकिनु र भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण स्थगित हुनु बालेन सरकारको ठूलो कूटनीतिक असफलता थियो। यसले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा एक्लाउने र साझेदार मुलुकहरूसँगको वर्षौँ पुरानो सम्बन्धमा चिसोपन ल्याउने जोखिम बढाएको थियो ।
अहिले साउन २६ (अगस्ट १०) मा आएर भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग सिंहदरबारमा बेग्लाबेग्लै संवाद गर्नुका साथै साउन २७ (अगस्ट ११) मा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोमसँग एक्लाएक्लै भेट्ने कार्यतालिका तय हुनुले बालेनको सुरुवाती अडान केवल ‘पपुलिजम’मा आधारित थियो भन्ने स्पष्ट पार्छ। यसअघि नै असार २२ मा एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग एकल भेटवार्ता गरेर उनले आफ्नो कडा नियम आफैँ तोडिसकेका थिए। ठोस कूटनीतिक भिजन र दूरदर्शिता बिना हचुवाका भरमा कडा नियम बनाउने र दबाब आएपछि सहजै सम्झौता गर्ने बालेनको यो प्रवृत्तिले उनको नेतृत्व क्षमतामाथि नै गम्भीर प्रश्न उठाएको छ।
भूराजनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिएको नेपाल जस्तो देशमा कूटनीतिलाई घरेलु राजनीतिका लागि स्टन्ट बनाउनु बालेन शाहको मुख्य कमजोरी देखियो। विदेशी सहायता, राष्ट्रिय सुरक्षा र विकास आयोजनाहरूमा देशको हित रक्षा गर्न प्रधानमन्त्रीस्तरमै द्विपक्षीय संवाद अनिवार्य हुन्छ भन्ने यथार्थ बुझ्न नसक्दा उनले देशको महत्वपूर्ण समय खेर फाले। अन्ततः स्थापित र परम्परागत कूटनीतिको मूलधारमै समाहित हुन आइपुग्नुले बालेन शाह पनि कूटनीतिक मामिलामा पुराना राजनीतिक दलहरू भन्दा फरक र परिपक्व छैनन् भन्ने कुरालाई नै प्रमाणित गरेको छ ।




















