काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिलाई पर्याप्त महत्व नदिएको आरोप लगाउँदै संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था बन्न नहुने बताएका छन् ।
सिंहदरबारमा बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले प्रधानमन्त्रीले संसदको संस्थागत भूमिका र संसदीय समितिको मर्यादालाई सम्मान गर्नुपर्ने बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थिति नहुने गरेको उल्लेख गर्दै उनले सरकारको नेतृत्वबाट संसदलाई बेवास्ता गर्ने अवस्था बन्न नहुनेमा जोड दिए ।
रसुवा बाढीपछिको विपद् व्यवस्थापनलगायत विषयमा उच्चस्तरीय संसदीय समिति गठन गर्ने सर्वदलीय निर्णयलाई प्रधानमन्त्रीले स्वीकार नगरे समस्या उत्पन्न हुनसक्ने उनको भनाइ छ । यस विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।
उनले संसदीय समितिलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेपछि प्रधानमन्त्री स्वयंले त्यसको काम र मर्यादालाई सम्मान गर्नुपर्ने बताए । समितिले तयार गर्ने प्रतिवेदनलाई सरकारले ग्रहण गरी आवश्यक कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ।
सभापति थापाले संसदीय समिति गठन गर्दा त्यसको कार्यक्षेत्र, जिम्मेवारी र आगामी कामबारे प्रधानमन्त्रीसँग सुरुदेखि नै संवाद गर्न रास्वपा सभापति लामिछानेलाई सुझाव दिएको बताए । यसो गर्दा समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा सरकार र संसदबीच असमझदारी उत्पन्न नहुने उनको भनाइ छ।
संसदीय समिति गठनका विषयमा दलहरूबीच सहकार्य जारी रहने बताउँदै थापाले एक साताभित्र समिति गठनका लागि सभामुखलाई औपचारिक रूपमा आग्रह गर्ने विषयमा सर्वदलीय बैठकमा समझदारी भएको जानकारी दिए ।




















