काठमाडौं । होर्मुज जलघाँटीमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य कारबाही सुरु गरेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिएको जनाएको हो। सेन्टकमका अनुसार होर्मुज जलघाँटी हुँदै यात्रा गरिरहेको साइप्रसको झण्डावाहक कन्टेनर जहाज एम/भी जीएफएस ग्यालेक्सीमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमण गरेपछि उक्त कारबाही गरिएको हो ।
अमेरिकी पक्षका अनुसार जहाजको इन्जिन कक्षमा ठूलो क्षति पुगेको छ भने आगलागीसमेत भएको छ । घटनापछि जहाजले आफ्नो यात्रा जारी राख्न नसकेको र चालक दलका एक सदस्य अझै बेपत्ता रहेको सेन्टकमले जनाएको छ ।
सेन्टकमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सैन्य कारबाही गरिएको बताउँदै अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालन हुने व्यापारिक जहाज तथा सर्वसाधारणको सुरक्षामाथि भएको आक्रमणको जवाफस्वरूप इरानमाथि “भारी मूल्य चुकाउने” उद्देश्यले हमला गरिएको जनाएको छ ।
यस घटनाले अमेरिका–इरानबीचको तनावलाई थप बढाएको छ। केही दिनअघि मात्रै इरानले होर्मुज जलघाँटी अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको थियो । विश्वको करिब पाँचौं भाग कच्चा तेल यही जलमार्गबाट ओसारपसार हुने भएकाले यस क्षेत्रको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ ।
हालसम्म इरानी अधिकारीहरूले अमेरिकी आक्रमणबारे विस्तृत प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । यद्यपि पछिल्ला घटनाक्रमले केही साताअघि भएको अस्थायी युद्धविराम कमजोर बन्दै गएको संकेत गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।



















