काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। साथै प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिप्रति पुनः आपत्ति जनाउँदै त्यसबारे संसद्मा स्पष्टिकरण दिन आग्रह गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्तिले नेपाली जनताको भावनामा चोट पुगेको बताए।
उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको रोष्ट्रममै उभिएर उक्त अभिव्यक्तिबारे माफी माग्न वा स्पष्ट पार्न आग्रह गरे। साथै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन सभामुखको ध्यानाकर्षणसमेत गराए।
सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
“गृहमन्त्रीलाई कसरी सफाइ दिइयो र प्रतिवेदनमा के–कस्ता निष्कर्ष छन् भन्ने कुरा आम नागरिकले जान्न पाउनुपर्छ,” उनले भने।
सरकारको कार्यशैलीप्रति पनि आलोचना गर्दै केरुङले एकातर्फ सुशासनको नारा दिने र अर्कोतर्फ विपक्षी दललाई धम्क्याउने तथा संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने प्रवृत्ति देखिएको आरोप लगाए।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार संसद्मा प्रश्न उठाउँदै आएका छन् भने त्यसबारे प्रधानमन्त्रीको औपचारिक जवाफको मागसमेत गरिरहेका छन्।




















