काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले रास्वपा सभापति रवि लामिछानेको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका महत्वपूर्ण विषय उठाइएको थियो वा थिएन भन्नेबारे प्रश्न गरेको छ।
सोमबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा अध्ययन गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे भारत पक्षसँग छलफल भएको थियो वा थिएन भन्ने जिज्ञासा राखेका हुन्।
बैठकमा महरले भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनको विषय उठाइएको भए त्यसको प्रतिक्रिया के रह्यो भन्नेबारे पनि जानकारी मागेका थिए। लामो समयको अध्ययनपछि तयार गरिएको उक्त प्रतिवेदन हालसम्म भारतीय पक्षले औपचारिक रूपमा ग्रहण गरेको छैन।
रास्वपा सभापति लामिछानेले जेठ १८ गतेदेखि पाँचदिने भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाहलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। भ्रमणपछि उनले सर्वदलीय बैठकमार्फत राजनीतिक दलहरूलाई भ्रमणबारे जानकारी गराएका थिए।
बैठकमा एमालेले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्ति र लामिछानेको भारत भ्रमणबीच कुनै सम्बन्ध वा तादम्यता थियो कि थिएन भन्ने प्रश्नसमेत उठाएको जनाएको छ। साथै, सीमा क्षेत्रमा भइरहेका अतिक्रमणका घटनाबारे भारतीय पक्षसँग कुरा भएको थियो वा थिएन भन्ने विषयमा पनि एमालेले स्पष्टता खोजेको छ।
एमालेले विशेष गरी सीमा विवाद, नेपाल–भारत सम्बन्धका संवेदनशील मुद्दा तथा ईपीजी प्रतिवेदनजस्ता विषयमा भ्रमणका क्रममा भएको छलफलबारे जानकारी दिन आग्रह गरेको जनाएको छ।



















