काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। उनी शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएका हुन्।
भारत जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनपछि यो पहिलो उच्चस्तरीय भ्रमण भएको बताए। उनले भ्रमणका क्रममा नेपालका प्राथमिकता र आपसी हितका विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए।
खनालले नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा यो भ्रमण सम्पन्न हुन लागेको उल्लेख गरे। दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमणले सकारात्मक योगदान पुर्याउने विश्वास पनि उनले व्यक्त गरे।
नेपालको परराष्ट्र मन्त्रालय का अनुसार भ्रमणका क्रममा खनालले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा अन्य आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।



















