काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया मन्त्रिपरिषद्’ वा ‘छाया सरकार’ गठन गरेको भन्ने चर्चा गलत भएको बताएका छन्।
कांग्रेस संसदीय दलको विधानअनुसार विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयगत समिति संयोजकहरू तोकिएको स्पष्ट पार्दै उनले त्यसलाई छाया सरकारका रूपमा व्याख्या गर्न नमिल्ने बताए।
आङ्देम्बेका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर १८ वटा मन्त्रालयको कार्यक्षेत्रअनुसार जिम्मेवारी बाँडफाँट गरिएको हो। यसको उद्देश्य संसदीय गतिविधिलाई प्रभावकारी बनाउनु र सम्बन्धित विषयमा अध्ययन, निगरानी तथा धारणा निर्माण गर्नु रहेको उनले बताए।
उनले कांग्रेसले सरकारको विकल्पका रूपमा कुनै समानान्तर संरचना खडा नगरेको उल्लेख गर्दै विषयगत समिति संयोजकको व्यवस्थालाई छाया मन्त्रिपरिषद्सँग जोडेर बुझ्न नहुने धारणा राखे।
आङ्देम्बेले भने, “हामीले बनाएको छाया सरकार होइन। संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो। पहिले छाया सरकार भन्ने प्रचलन थियो, अहिले त्यस्तो संरचना बनाइएको छैन।”
पछिल्ला दिनमा कांग्रेसले छाया सरकार गठन गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आङ्देम्बेले उक्त विषयमा स्पष्टिकरण दिएका हुन्।




















