काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।
रास्वपाको भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन्।
रास्वपाका अनुसार लामिछाने जेठ २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, भारतमा रहेका नेपाली समुदायका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उनले भेटघाट गर्नेछन्। भ्रमणको क्रममा लामिछानेले अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
रास्वपाले भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा जनस्तरीय सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको छ।




















