काठमाडौँ । केन्याको उत्तरपश्चिम क्षेत्रमा रहेको एक विद्यालयमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। उपचारका क्रममा थप ६ विद्यार्थीको मृत्यु भएपछि मृतक संख्या बढेको प्रहरीले बिहीबार पुष्टि गरेको हो।
यो घटना नकुरु काउन्टीको गिलगिल क्षेत्रमा रहेको उतुमिशी गर्ल्स एकेडेमीको छात्रावासमा स्थानीय समयअनुसार बिहीबार बिहान करिब १ बजे भएको हो। आगलागी हुँदा अधिकांश विद्यार्थी छात्रावासमा सुतिरहेका थिए। प्रारम्भिक घटनामा १० जनाको मृत्यु भएको थियो भने पछि गम्भीर घाइतेमध्ये थप ६ जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार आगलागीपछि छात्रावासमा अफरातफरी मच्चिएको थियो। उद्धार टोली, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सञ्चालन गरेका थिए। घटनास्थलबाट धेरै विद्यार्थीलाई बाहिर निकालेर विभिन्न अस्पतालमा पुर्याइएको थियो।
हाल ७० भन्दा बढी विद्यार्थी विभिन्न अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये कतिपयको शरीरमा गम्भीर जलन भएको बताइएको छ। प्रहरी प्रतिवेदनअनुसार अधिकांश घाइतेको अवस्था स्थिर रहे पनि केहीको अवस्था अझै चिन्ताजनक छ।
विद्यालय प्रशासनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाएको छ। घटनापछि अभिभावक र स्थानीय बासिन्दा विद्यालय परिसरमा जम्मा भएका थिए।
प्रहरी र अग्नि अनुसन्धान टोलीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट सर्किट वा अन्य प्राविधिक कारण हुन सक्ने अनुमान गरिएको भए पनि आधिकारिक कारण सार्वजनिक गरिएको छैन।
केन्यामा पछिल्ला वर्षहरूमा विद्यालय छात्रावासमा आगलागीका घटना दोहोरिँदै आएका छन्। कमजोर सुरक्षा व्यवस्था, आपतकालीन निकासको अभाव र भीडभाडयुक्त छात्रावासलाई यस्ता दुर्घटनाको मुख्य कारण मानिने गरिएको छ। रासस




















