काठमाडौँ । इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर अहिलेसम्म दुवै देशले युद्धविराम समाप्त भएको घोषणा गरेका छैनन्।
इरानी सञ्चारमाध्यमका अनुसार चारवटा जहाज हर्मुज स्ट्रेटबाट जाँदै गर्दा गोली हानिएको छ । तीमध्ये एक अमेरिकी तेल ट्यांकर पनि थियो । यी जहाजहरूले आफ्नो ट्र्याकिङ सिस्टम बन्द गरेर गइरहेका थिए ।
इरानी रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले जहाजहरूलाई पहिचान बताउन भनेको थियो, तर जवाफ आएन। त्यसपछि इरानी सेनाले चेतावनीस्वरूप गोली चलाएको थियो।
रिपोर्टहरू अनुसार, त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास एयरपोर्ट नजिकै तीन ठाउँमा हमला गरेको छ।
यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईरजीसी) ले एक अमेरिकी एयरबेसमा हमला गरेको जनाएको छ। आईआरजीसीका अनुसार यो हमला बन्दर अब्बास एयरपोर्ट नजिक अमेरिकाले गरेको हमलाको जवाफमा गरिएको हो।
यद्यपि, इरानले कुन आधारमा कुन एयर बसेमा हमला गरेको हो भन्ने खुलाएको छैन। इरानी सेनाले कुवेतमा रहेको अमेरिकी बेसलाई निशाना बनाएको बताइएको छ।
तस्नीम न्यूज एजेन्सीका अनुसार, आईआरजीसीले वक्तव्य जारी गर्दै जुन एयरबेसबाट अमेरिकी हमला भएको थियो, त्यसलाई स्थानीय समयअनुसार बिहान ४:५० बजे निशाना बनाइएको थियो।
बन्दर अब्बासनजिक तीन विस्फोट
इरानी सरकारी मिडियाका अनुसार, हर्मुज स्ट्रेटनजिकैको बन्दर अब्बास शहरको पूर्वी भागमा मंगलबार बिहान तीनवटा ठूला विस्फोटको आवाज सुनिएको थियो।
विस्फोटलगत्तै इरानले केही समयका लागि आफ्नो एयर डिफेन्स सिस्टम सक्रिय पारेको थियो। तर विस्फोट किन भएको हो भन्ने अझै स्पष्ट भएको छैन।




















