गुल्मी । नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दै दल परिवर्तन गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो।
पद रिक्त हुनेमा मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पदमबहादुर बिष्ट रहेका छन्। उनीहरू नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा निर्वाचित जनप्रतिनिधिले आफ्नो दल त्यागेर अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार आयोगले दुवै जनाको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको जनाएको छ।
निर्वाचन आयोगले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ।




















