काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले बाँदर आतंकका कारण गाउँमा नागरिक बस्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।
सांसद राईले धनकुटा नगरपालिका–९ की एक स्थानीयले आफूलाई फोन गरेर घरको बार्दलीमा सुकाएका बालबालिकाका लुगासमेत बाँदरले लगेको र खानासमेत सुरक्षित राख्न नसकिएको गुनासो गरेको उल्लेख गरे। उनले भने, “उहाँलाई मैले कुनै जवाफ दिन सकिनँ। बाँदर आतंकको विषयमा सरकार गम्भीर बनोस्।”
उनका अनुसार बाँदरको समस्याका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्न कठिन बन्दै गएको छ। “बाँदरले बसाइँ उठाइसक्यो। जनताको लागि ठूलो समस्या बन्यो बाँदर,” उनले भने।
राईले सात दिनभित्र बाँदर आतंक नियन्त्रणका लागि ठोस पहल नगरे संसद् सञ्चालनमै असर पर्ने चेतावनीसमेत दिए। उनले सरकारलाई जनताको दैनिक जीवनसँग जोडिएका यस्ता समस्याप्रति संवेदनशील बन्न आग्रह गरे।




















