काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले आत्मनिर्भर अर्थतन्त्र निर्माणबिनाको विकास दिगो हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेम्वाङले संविधान संशोधनदेखि अर्थतन्त्र र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संविधान जारी भएको १० वर्ष पुग्न लागेका बेला यसको समीक्षा र संशोधनको बहस चलिरहेको उल्लेख गर्दै उनले संशोधनलाई राजनीतिक अंकगणितको विषय मात्रै बनाउन नहुने बताए ।
‘संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन, यो रगत र पसिनाले लेखिएको साझा सहमति हो,’ उनले भने, ‘संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ्ग भरिनुपर्छ ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताका अपेक्षा र भरोसालाई समेट्न नसकेको टिप्पणी गर्दै उनले ठोस योजना र स्पष्ट दिशाको अभाव रहेको बताए ।
नेम्वाङले परनिर्भर अर्थतन्त्रका आधारमा कुनै पनि देश समृद्ध बन्न नसकेको उल्लेख गर्दै आत्मनिर्भर आर्थिक मोडल आवश्यक रहेको धारणा राखे ।
‘परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै छैन,’ उनले भने, ‘नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प देखिएको छैन ।’
उत्पादनबिनाको वितरणमुखी सोचले मुलुकलाई समृद्ध बनाउन नसक्ने जिकिर गर्दै उनले विदेशी अनुदानमा निर्भर रहने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
‘हामी कहिलेसम्म विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने ? अब अरूले देखाइदिएको बाटोमा होइन, आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटोमा अघि बढ्नुपर्छ,’ उनले भने, ‘त्यो उत्पादनको बाटो हो ।’
सुशासनका नाममा राज्यले दमन वा त्रास फैलाउने कार्य स्वीकार्य नहुने पनि उनले बताए । सुशासन बलियो प्रणाली र पद्धतिबाट स्थापित हुने उल्लेख गर्दै उनले केवल बन्दूक, जेल वा डर देखाएर सुशासन कायम नहुने धारणा राखे ।
सरकारलाई उनले केवल घोषणा र दाबीमा सीमित नरही वस्तुगत रूपमा कति काम सम्पन्न भयो र कति बाँकी छन् भन्ने स्पष्ट विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।




















