काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले संवैधानिक प्रावधानको दुरुपयोग गर्दै धमाधम अध्यादेश ल्याएको आरोप लगाएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्लाई कमजोर बनाउने प्रयास गरेको टिप्पणी गरिन् ।
उनले संविधानको धारा ११४ ले विशेष परिस्थितिमा मात्रै अध्यादेश ल्याउन सकिने व्यवस्था गरेको भए पनि सरकारले त्यसको मर्म विपरीत अध्यादेश जारी गरिरहेको आरोप लगाइन् ।
‘प्रतिनिधिसभालाई सरकारले वेवास्ता गरेको हो कि भन्ने देखिन्छ । अझ भनौं, प्रतिनिधिसभालाई छायामा पार्ने प्रयास भइरहेको भान हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन,’ उनले भनिन् ।
ओलीले विगतमा संसद्को गरिमा र भूमिकाको पक्षमा आवाज उठाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू अहिले सत्तामा रहे पछि वर्तमान सरकारको शैलीमाथि मौन बसेको संकेत गरिन् ।
सरकारले हालै ल्याएका अध्यादेशलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच संसद्मा विवाद चर्किंदै गएको छ ।




















