काठमाडौं । जनमत पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै जाँदा मधेश प्रदेश संसदीय दलको नेतृत्व परिवर्तन गरिएको छ। बहुमत सांसदहरूले सरकारबाट बाहिरिने निर्णयसँगै दलको नेता पनि फेरिएको हो ।
पार्टी अध्यक्ष सीके राउतले महेश प्रसाद यादवलाई संसदीय दलको नेताबाट हटाउँदै चन्दनकुमार सिंहलाई नयाँ नेता तोकेको पत्र जारी गरेका छन्।
यसअघि जनमतभित्रै सरकारलाई समर्थन फिर्ता लिने र समर्थन कायम राख्ने विषयमा फरक–फरक पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएपछि विवाद सतहमा आएको थियो। पछिल्लो निर्णयसँगै पार्टीभित्रको शक्ति संघर्ष अझ स्पष्ट देखिएको छ।
यो घटनाक्रमले मधेश प्रदेशको राजनीतिक समीकरणमा थप अन्योल सिर्जना गरेको छ।




















