जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । सोमबार प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएपछि सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालले उक्त पत्र प्राप्त भएको पुष्टि गरेका छन्। १२ सदस्यीय जनमत पार्टी हाल सरकारमा सहभागी रहँदै अर्थ तथा खेलकुद एवं समाज कल्याण मन्त्रालय सम्हाल्दै आएको छ। पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री रहेका छन्।
समर्थन फिर्ता लिएको विषयमा प्रमुख सचेतक सिंहले पार्टीको निर्णयअनुसार कदम चालिएको बताएका छन्। तर अर्थमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेश यादवले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्, जसले पार्टीभित्र आन्तरिक मतभेदको संकेत गरेको छ।
पछिल्ला केही सातादेखि समर्थन फिर्ताको चर्चा चलिरहे पनि मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार स्थिर रहेको दाबी गर्दै आएका थिए। तर जनमतको पछिल्लो निर्णयले मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ।
स्रोतका अनुसार एमाले, जसपा, जनमत र लोसपा मिलेर नयाँ सरकार गठनको तयारी भइरहेको छ। १०७ सदस्यीय प्रदेश सभामा हाल १०० सांसद कायम रहेका छन्, जसमा यी चार दलका गरी ६२ सांसद नयाँ समीकरणतर्फ उन्मुख रहेको बताइएको छ।
यसअघि पनि आन्तरिक विवादका कारण जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार परिवर्तन गरेको इतिहास छ। वर्तमान परिस्थितिले फेरि मधेस प्रदेशको राजनीतिक दिशा परिवर्तनतर्फ संकेत गरेको छ।




















