जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादबीच समर्थन फिर्ता सम्बन्धी निर्णय १२ घण्टामै उल्टिएको छ । पार्टीका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको केही घण्टापछि संसदीय दलका नेता महेश प्रसाद यादवले समर्थन कायमै रहेको बताएका छन्।
यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाउँदै आफ्नो जानकारीबिनाको कुनै पनि बैठक र निर्णय आधिकारिक नहुने उल्लेख गर्दै कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई जनमत पार्टीको समर्थन यथावत रहेको स्पष्ट पारेका छन्।
यसअघि सोमबार राति पार्टीका प्रमुख सचेतक चन्दन सिंहले ९ जना सांसदको समर्थनसहित सरकारबाट समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख कार्यालयमा गराएका थिए। उनका अनुसार पार्टी अध्यक्ष सीके राउतसँगको सल्लाहमा उक्त निर्णय गरिएको थियो।
मधेश सरकारमा जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री तथा बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्री रहेका छन्। प्रदेश सभामा पार्टीका १२ सांसद छन्, जसमा बबिताकुमारी राउत उपसभामुख छन्।
यो घटनाक्रमले मधेशको राजनीतिमा नयाँ अन्योल सिर्जना गरेको छ। समर्थन फिर्ता र पुनः समर्थनको परस्पर विरोधी दाबीले कांग्रेस नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न उठाएको छ भने वैकल्पिक गठबन्धनको सम्भावनाबारे पनि चर्चा चुलिएको छ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। हाल विभिन्न दलहरूको समीकरणले सरकार गठन र विघटनको खेल अझ जटिल बन्ने संकेत देखिएको छ।




















