काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अध्यादेश ल्याएको कदम लोकतन्त्र र संवैधानिक मान्यताविरुद्ध भएको बताएका छन्।
बिहीबार मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बोलाइसकेको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु गलत भएको बताए।
उनले भने, “सदनको बैठक नबस्दै स्थगित गरेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध हो, यस्तो गल्ती नगर्न हामीले सरकारलाई सचेत गराइसकेका छौँ।” उनका अनुसार अध्यादेश विशेष परिस्थितिमा मात्र ल्याउनुपर्ने भए पनि अहिलेको प्रक्रिया अनुचित रहेको छ।
अध्यादेश रामचन्द्र पौडेलसमक्ष पुगिसकेको उल्लेख गर्दै प्रचण्डले अब त्यसबारे राष्ट्रपतिको निर्णय कुर्नुपर्ने अवस्था रहेको बताए।
यसैबीच, राष्ट्रपतिले अध्यादेशबारे निर्णय लिनुअघि कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार आज अपराह्न ४ बजे राष्ट्रपति निवासमा महान्यायाधिवक्ता तथा संवैधानिक कानुनका विज्ञहरूसँग परामर्श गर्ने कार्यक्रम तय गरिएको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ भने तीमार्फत ४० भन्दा बढी कानुन संशोधन गर्ने तयारी गरिएको जनाइएको छ।
अध्यादेश जारी गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय गर्नुअघि राष्ट्रपतिले कानुनी परामर्श लिने तयारी गरेका छन्।




















