काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ।
उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक अनुमोदन गर्ने तयारी गरिएको छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रूपमा दलको नेता चयन गर्न लागेको हो।
आङ्देम्बे कांग्रेसका समानुपातिक सांसद हुन्। प्रारम्भमा दलको नेताका लागि अर्जुननरसिंह केसी र मोहन आचार्य समेत प्रमुख दाबेदारका रूपमा देखिएका थिए। तर, पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई अगाडि सार्ने सहमति बनेको हो।
उनी पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यद्यपि, गगन थापा सभापति चयन भएको विशेष महाधिवेशनमा उनी सहभागी भएका थिएनन्। पछि उनले आफू कुनै गुटमा सीमित नरहेको र सभापति थापाको भावनाअनुसार काम गर्न तयार रहेको बताएका थिए।
पार्टीभित्र एकता कायम गर्ने उद्देश्यले उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने धारणा राख्दै आएका थिए। शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरूको समर्थन पाएपछि ३८ सदस्यीय संसदीय दलमा उनको पक्षमा बहुमत सुनिश्चित भएको स्रोतले जनाएको छ।




















