काठमाडौं । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रलोपाको साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी दिएका हुन्। “प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु,” उनले उल्लेख गरेका छन्।
किरातीले पार्टीमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै करिब पाँच महिनाको यात्रामा साथ दिने नेता, कार्यकर्ता र कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।
उनले प्रलोपासँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि व्यक्तिगत सम्बन्ध भने यथावत रहने बताएका छन्। “यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु,” उनले लेखेका छन्, “संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास लिएको छु।”
पार्टी परित्यागपछि पनि आफ्नो राजनीतिक यात्रा भने निरन्तर रहने उनले स्पष्ट पारेपनि कुन पार्टीबाट राजनीति गर्ने भन्ने स्पष्ट पारेका छैनन् । जनताको सेवा र समाज रूपान्तरणको अभियानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी बाटो चुनौतीपूर्ण भए पनि निरन्तर अघि बढ्ने बताएका छन्।
“जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर देश र जनताको सेवामा समर्पित रहनेछु,” उनले उल्लेख गरेका छन्। किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जाने चर्चा भने केही अघि देखि नै भइरहेको छ ।




















