काठमाडौँ । नेपाली कांग्रेसले चुनावी समीक्षा सुरु गरेको छ । पार्टी सभापति गगन थापा आज नेपाली प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन जनकपुर जाँदै छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट समीक्षा अभियान सुरु गर्न लागेको हो।
उक्त निर्वाचनमा सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका सभापति थापा त्यसपछि पहिलो पटक मधेस जान लागेका हुन्। कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार जनकपुरको कार्यक्रमपछि थापा सर्लाही–४ पुग्ने कार्यक्रम छ।
कांग्रेसले सञ्चालन गर्ने प्रदेशस्तरीय समीक्षा कार्यक्रममा उम्मेदवार, क्षेत्रीय तथा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्य, समानुपातिक उम्मेदवार तथा प्रदेश पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ।
जनकपुरपछि कांग्रेसले चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौंडा र वैशाख ९ गते विराटनगरमा पनि यस्ता समीक्षा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।




















