काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता अन्त्य गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिए ।
उनले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको जनाएका छन् । अहिले दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत छलफलका आधारमा आफूले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको ट्रम्पको भनाइ छ ।
यसअघि उनले ४८ घण्टाभित्र इरानले होर्मुज जलडमरु नखोले त्यहाँका ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा इरानले पनि आफूमाथि हमला भए पश्चिम एसियाका ऊर्जा केन्द्र र अन्य संवेदनशील पूर्वाधारमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएपछि विश्वभर चिन्ता बढेको थियो ।
यो अवधिमा हुने वार्ताको सफलताका आधारमा आगामी कदम चालिने उनले स्पष्ट पारेका छन् । जारी वार्ता यसै हप्ताभरि चल्ने र यसले दुई देशबीचको तनावलाई पूर्ण रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।




















