राँझा (बाँके) । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व संकलन गरेको छ ।
चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
उनका अनुसार, लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुनसकेको छैन ।
चालु आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो ।
नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलको भनाइ छ ।
नेपालगन्ज भन्सारमा चालु आवको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत एक अर्ब ३५ करोड १० लाख नौ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आल २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मंसिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत र फागुनमा ७३.६८ प्रतिशत राजस्व संकलन भएको थियो । (रासस)



















