काठमाडौं । राप्रपाका नेता कमल थापाले संविधान संशोधनमार्फत नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउन सहमत भए रास्वपालाई दुई तिहाइ पुर्याउनका लागि र आफ्नो दलको पूर्ण समर्थन रहने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले रास्वपा र वालेनको नेतृत्वमा बन्ने सरकारलाई संसदमा दुईतिहाइ बहुमतका लागि दुई सिट अपुग रहेको उल्लेख गर्दै संविधान संशोधनको स्पष्ट एजेन्डा आए राप्रपाको समर्थन रहने बताएका हुन।
थापाले लेखेका छन्, “रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतका लागि दुई सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राप्रपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहनेछ ।”
नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने विषय लामो समयदेखि राप्रपाले उठाउँदै आएको एजेन्डा हो। थापाको यो अभिव्यक्तिले सम्भावित सरकार गठन र संविधान संशोधनको बहसलाई थप राजनीतिक महत्व दिएको छ।




















