काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजसम्बन्धी विवादमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको निर्णयविरुद्ध दायर गरिएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग्ने आदेश दिएको हो।
अदालतले आगामी सुनुवाइका लागि सम्बन्धित कागजात तथा फाइल झिकाउन पनि आदेश दिएको छ। आयोगले निवेदकको उम्मेदवारी खारेज गर्ने निर्णयसँग सम्बन्धित फाइल अदालतमा पेश गर्नुपर्ने आदेशमा उल्लेख छ।
आदेशमा भनिएको छ, “अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेदवारी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त देखिएकोले सो प्रयोजनका लागि फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकिनेछ।”
साथै, सो दिनको छलफलमा आयोगले फागुन १८ गते गरिएको उम्मेदवारी खारेजसम्बन्धी निर्णयसहितको फाइल अदालतमा उपस्थित गराउन पनि निर्देशन दिइएको छ।



















