नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको दुत्से दान अजिया गाउँमा हतियारधारी एक समूहको आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई बताएका छन् ।
जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भने , ‘यो आक्रमण बिहीबारको रातदेखि शुक्रबार सम्म दुर्गम गाउँमा भएको थियो, जहाँ ‘थोरै मात्र पहुँच मार्गहरू थिए’ तर अहिले यस क्षेत्र सामान्य अवस्थामा फर्किएको छ । ‘ स्थानीय विधायक हामिसु फारुले आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन् ।
स्थानीय रूपमा ‘डाँकु’ भनिने सशस्त्र गिरोहहरू जाम्फारा, कात्सिना, कडुना, सोकोटो, केब्बी र नाइजर राज्यहरूमा फैलिएको जंगलमा आश्रयस्थल बनाएर बस्ने र गाउँहरूमा आक्रमण गर्ने गर्छन् । नाइजेरियाली सेना यी समूहहरूसँग लड्न धेरै वर्षदेखि यस क्षेत्रमा तैनाथ छ, तर हिंसा जारी छ ।
नाइजेरियामा हालैका महिनाहरूमा जिहादी समूह र डाँकुहरूद्वारा बढ्दो हिंसाले संयुक्त राज्य अमेरिकाको ध्यान आकर्षित गरेको छ ।
हिंसालाई इसाईहरूको ‘उत्पीडन’ को रूपमा चित्रण गर्ने वाशिङ्गटनले क्रिसमसको दिन उत्तरको सोकोतो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वय गरेर अचानक हवाई आक्रमणको आदेश दिएको छ । (रासस)




















