काठमाडौं । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।
स्थानीय स्रोतलाई हवाला दिँदै समाचार एजेन्सी एएफपीले ३८ जना मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएको समाचार छ ।
‘खानीमा विस्फोट भएको सत्य हो,’ स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, ‘विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।’
स्थानीय समयअनुसार बिहान ७ : ३० देखि ८ को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए ।
सानीले टेलिफोनमा एएफपीसँग भने, ‘हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो ।’
पश्चिम अफ्रिकी देश नाइजेरियाले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ । गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानीमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । –(रासस/एएफपी)




















