काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बनेपछि आगामी पाँच वर्षमा गर्ने कामको स्पष्ट सूची र कार्ययोजना तयार भइसकेको बताएका छन् ।
शुक्रबार सर्लाहीको धनकौलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सर्लाहीका समस्या केन्द्रित गरी घोषणापत्रमा समेटिने जानकारी दिए । सर्लाहीका मुद्दा कांग्रेसको संकल्पपत्रमा प्राथमिकताका साथ समावेश गरिने उनको भनाइ थियो ।
आगामी निर्वाचनमा सर्लाही मात्र होइन, देशकै समस्या समाधान गर्ने गरी जिम्मेवारी दिन मतदातासँग आग्रह गर्दै उनले भने, “सर्लाहीका लागि मात्र होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिनुस्।”
देशको नेतृत्व सम्हाल्ने अवसर पाएमा के गर्ने भन्ने विषयमा तयारी पूरा भइसकेको उल्लेख गर्दै उनले भने, “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ।”
प्रधानमन्त्री भएपछि गर्ने कामबारे गहिरो अध्ययन–अनुसन्धान गरिसकेको दाबी गर्दै थापाले भने, “प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत योजना बनाइसकेका छौँ। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातासँग छ।”
थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । चुनावी प्रचारका क्रममा सर्लाहीमा रहेका उनी शुक्रबार काठमाडौं फर्किएका छन् ।
नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीका लागि उनी काठमाडौं फर्किएको जनाइएको छ । नेपाली कांग्रेसले फागुन ३ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।




















