काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली अत्यन्त महँगो र अप्रभावकारी बन्दै गएको बताएका छन् ।
पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले अहिले अभ्यासमा रहेको संसदीय प्रणालीले मुलुकलाई सही दिशामा अघि बढाउन नसकेको जिकिर गरे । उनले भने, “हामीले अभ्यास गरिरहेको संसदीय प्रणाली असफल भइसकेको छ । शासकीय स्वरूप परिवर्तन गर्न आवश्यक छ र निर्वाचन प्रणाली अत्यधिक महँगो भएको छ।”
यादवले समयानुकूल व्यवस्था निर्माण गर्न संविधान संशोधन मात्र नभई पुनर्लेखनको विकल्प पनि नरहेको बताए । मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थामा अघि बढे पनि जनताले त्यसको वास्तविक अनुभूति गर्न नपाएको उनको भनाइ थियो ।
यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ‘फ्रि भिसा र फ्रि टिकट’को व्यवस्था गर्ने नीति अघि सारेको छ । आज सार्वजनिक घोषणापत्रमा श्रमिकहरूलाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउने स्पष्ट उल्लेख गरिएको छ ।
घोषणापत्रमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिने र उनीहरूको सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ । साथै विदेशबाट फर्केका नागरिकहरूले त्यहाँ हासिल गरेको सीपका आधारमा स्वदेशमै रोजगारीको व्यवस्था गरिने नीति पनि समेटिएको छ ।
घोषणापत्रमा भनिएको छ, “वैदेशिक रोजगारी रहर होइन, बाध्यता हो । आन्तरिक रोजगारीको प्रवर्द्धन गर्नु राज्यको मूल दायित्व हो । आन्तरिक रोजगारी सुनिश्चित नहुञ्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकका लागि सीप विकास, तालिम तथा रोजगारीमा जाँदा लाग्ने लागत रोजगारदाताबाट ग्यारेन्टी गरिनुपर्छ।”
पार्टीले विदेशबाट आउने रेमिट्यान्स रकम अनिवार्य रूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत भित्र्याउनुपर्ने पनि जनाएको छ । प्राप्त रेमिट्यान्सको महत्वपूर्ण हिस्सा श्रमिकको विकास र संरक्षणमा खर्च गर्नुपर्ने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।




















