काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान निर्वाचन प्रक्रिया राष्ट्रपतीय प्रणालीजस्तै बन्दै गएको बताए।
कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको उल्लेख गर्दै प्रवक्ता चालिसेले राष्ट्रपतीय शैलीको झल्को दिने निर्वाचनमा आफूहरूलाई धकेलेर लगिएको गुनासो गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बालेन्द्र शाह (बालेन) आबद्ध भएको विषयमा टिप्पणी गर्दै उनले रवि लामिछाने र बालेन शाहबीच भएको एकता रहरले नभई गराइएको गठबन्धन भएको दाबी गरे।
‘रवि र बालेनले आफ्नो इच्छाले गठबन्धन गरेका होइनन्, यो गराइएको गठबन्धन हो,’ उनले भने, ‘ठगी प्रकरणमा मुछिएपछि आकर्षण घटेकाले अर्कोलाई ल्याएर राखिएको हो।’
प्रवक्ता चालिसेले कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच तुलना नै हुन नसक्ने पनि बताए।
यसैबीच, उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचारमा सक्रिय गराउने प्रयास भइरहेको जानकारी दिए। पत्रकारको प्रश्नको उत्तर दिँदै उनले पार्टीभित्र यस विषयमा छलफल भइरहेको बताए।
‘उहाँसँग संवाद गर्ने कुरामा सबै सहमत छौँ। दुई–चार दिनदेखि प्रयास भइरहेको छ,’ उनले भने, ‘अरू उपाय नलागेपछि तत्कालका लागि वक्तव्य निकाल्ने र भावनात्मक अपिल गर्ने तयारी भइरहेको छ।’
उनले जेन–जी आन्दोलनपछि पार्टीको केन्द्रीय समिति बैठकमा देउवाले दिएको मन्तव्य प्रभावकारी भएको स्मरण गर्दै सोही प्रकारको अभिव्यक्ति फेरि दिलाउन सके निर्वाचनमा कांग्रेसको पक्षमा ठूलो लहर सिर्जना हुनसक्ने बताए।
‘त्यसैखालको एउटा कपी बनाएर बोल्न लगाउने र काठमाडौंका चार–पाँच क्षेत्रमा उपस्थित गराउन सके झ्याप्पै वेभ आउन सक्छ,’ उनले भने।
यी विषयहरू पार्टीभित्र प्राथमिकताका रूपमा राखिएको पनि उनले जानकारी दिए। पार्टीभित्र समग्र एकता कायम हुन सके त्यो कांग्रेसको सबैभन्दा ठूलो शक्ति हुने उनको भनाइ थियो।
‘यो हाम्रो बलियो पक्ष हो। समस्या भए पनि नियत वा दृष्टिकोणको कमीका कारण होइन,’ उनले भने। कतिपय प्रयास गर्दा पनि अपेक्षित परिणाम नआउने अवस्था आउने गरेको उनको भनाइ थियो।




















