काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा संगठनको बलमा बहुमत हासिल गर्न सकिने दाबी गर्दै सामाजिक सञ्जालमा मात्र सीमित नभई मतदाताको घरघरमा पुग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
थापाले कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताउँदै पार्टीभित्र मत विभाजन हुन नदिन सचेत गराएका छन् । “कांग्रेसको कार्यकर्ताले रुख चिन्ह बाहेक अन्यत्र मत हाल्ने अवस्था हुनुहुँदैन। कुनै नेता जिताउन अर्को नेता हराउने काम स्वीकार्य छैन,” उनले भने, “अब ‘अबकी बार यो सरकार’ होइन, ‘अबकी बार सय पार’ भन्ने नारा लगाउनुस्। संगठनको तागतले बहुमत सम्भव छ।”
कांग्रेस १० लाख क्रियाशील सदस्य भएको पार्टी भएको बताउँदै थापाले विगतमा पार्टी छाडेर गएकाहरूलाई पुनः फर्काउनु पर्ने बताएका छन् । “कुनै न कुनै कारणले पार्टी छोडेका साथीहरूलाई हृदय खुला गरेर स्वागत गर्नुपर्छ। उहाँहरूका गुनासालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ भन्ने सन्देश लिएर घर फर्क भन्नुपर्छ,” उनले भने ।
गत निर्वाचनमा आन्तरिक असन्तुष्टिका बीच पनि कांग्रेसले समानुपातिकतर्फ २७ लाखभन्दा बढी मत पाएको स्मरण गराउँदै उनले संगठनप्रति विश्वास राख्न आग्रह गरेका छन् । “हल्लाबाट नडराऔँ । सामाजिक सञ्जालमा सक्रिय हुनुस्, तर कांग्रेस त्यहीं सीमित भएर बस्नु हुँदैन, हाम्रो वास्तविक तागत भनेको गाउँ–गाउँ, टोल–टोल र घर–घर पुग्न सक्ने क्षमता हो।”
सामाजिक सञ्जालका भ्युज र लाइकको पछाडि मात्र दौडेर चुनाव जित्न नसकिने बताउँदै थापाले निर्वाचन प्रचारप्रसारको शैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै भने “प्रत्येक घरमा पुग्नुपर्छ, त्यहाँ बस्नुपर्छ, कुरा सुन्नुपर्छ र आफ्ना कुरा राख्नुपर्छ, गाली आए पनि सुन्नुपर्छ, प्रश्नबाट भाग्नु हुँदैन ।”




















