काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि तोकिएको छ।
सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई दिइएको आधिकारिता बदर गर्न माग गर्दै दायर रिट न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा आज (मंगलबार) पेशी तोकिएको हो। उक्त रिट सर्वोच्चको पेसी सूचीमा चारवटा निवेदनपछिको रोल क्रममा ‘ङ’ नम्बरमा राखिएको छ।
गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते मान्यता दिएको थियो। त्यसविरुद्ध कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
कांग्रेस विवादसम्बन्धी रिटको सुनुवाइ तोकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।




















