काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले थापालाई सो क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट निर्वाचित थापा यसपटक पहिलोपटक मधेस प्रदेशबाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन्। हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन्।
सर्लाही ४ मा नेकपा (एमाले)का रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादव उम्मेदवार छन् । थापा काठमाडौं, धनकुटा र रोल्पासँगै सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका थिए ।
२०७९ मा भएको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए । सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए । यस पटक पनि सिंह रास्वपाबाट उम्मेदवार बन्दैछन् ।




















