काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विधान कार्यान्वयन गर्नकै लागि विशेष महाधिवेशन आह्वान गर्नुपरेको स्पष्ट पारेका छन्। उनले आन्दोलनको धम्कीका आधारमा निर्वाचन आयोग प्रभावित नहुने विश्वास पनि व्यक्त गरेका छन्।
निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर विशेष महाधिवेशन आह्वान गर्नुपरेको पृष्ठभूमिबारे जानकारी गराउँदै शर्माले केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्ताको माग सम्बोधन नगरेपछि आफूहरूले विधानअनुसार प्रक्रिया अघि बढाएको बताए।
उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूमाथि गरेको कारबाही विधानसम्मत नभएको दाबी गर्दै विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै पार्टीको आधिकारिक नेतृत्व भएको बताए। “कारबाही गर्ने प्रक्रिया कानुनसम्मत छैन,” शर्माले भने, “नियमित महाधिवेशनको तालिका सार्वजनिक हुँदैमा विशेष महाधिवेशन खारेज हुन्छ भन्ने तर्क सही हुँदैन।”
नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशनमार्फत पार्टी सञ्चालन गर्नुपर्ने विधानको व्यवस्था रहेको पनि शर्माको भनाइ छ। “विशेष महाधिवेशनको माग आएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने प्रावधानलाई हामीले कार्यान्वयन गरेका हौँ,” उनले भने, “१५औँ महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्था आएपछि विशेष महाधिवेशन आह्वान गर्नु आवश्यक भयो।”
केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने विधानको व्यवस्थाअनुसार सबै प्रक्रिया अघि बढाइएको पनि उनले बताए।
उपसभापति शर्माले निर्वाचन आयोग आन्दोलनको चेतावनीबाट प्रभावित नहुने विश्वास व्यक्त गर्दै केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनको प्रसंग उल्लेख गरे। उक्त पत्रकार सम्मेलनमा देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूको पक्षमा निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए।
“निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने आन्दोलन गर्छौँ भन्ने अभिव्यक्ति दिइएको सुनेपछि आयोगलाई हाम्रो धारणा स्पष्ट पार्न यहाँ आएका हौँ,” शर्माले भने, “निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र निष्पक्षतामा अडिग रहन्छ भन्नेमा हामी विश्वस्त छौँ।”



















