काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचन आयोग जाने भएका छन्।
नेता सुभाष पोखरेलका अनुसार निर्वाचन आयोगले बोलाएकाले थापाको नेतृत्वमा रहेको टोली आयोग जान लागेको हो। आयोगले चुनाव चिह्नलगायत विषयमा छलफल गर्न बोलाएको बताइएको छ।
यसअघि शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको देउवा पक्षको टोली निर्वाचन आयोग पुगेको थियो। उक्त टोलीले पार्टीको आधिकारिकता आफूहरूसँग रहेको दाबी गर्दै कागजात बुझाएको थियो।
त्यसैगरी, बिहीबार गगन थापा नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिबारे जानकारी गराउँदै विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो। सोही विषयलाई लिएर थापा नेतृत्वको टोली पुनः आयोग जान लागेको हो।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ। शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन वैधानिक नभएको दाबी गर्दै आएको छ भने थापा पक्षले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले आफूहरूलाई नै आधिकारिकता दिनुपर्ने माग गरिरहेको छ।



















