काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ नियमित महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ।
१८ पुसमा बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका ल्याउने निर्णय गरेको थियो। सोही निर्णयलाई बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको हो।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका सार्वजनिक गर्ने प्रस्ताव पारित गरेको नेताहरूले जानकारी दिएका छन्।
बैठकमा कानुनी परामर्शका लागि कांग्रेसनिकट कानुन व्यवसायीहरू पनि सहभागी गराइएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार पछिल्लो राजनीतिक र संगठनात्मक अवस्थालाई मध्यनजर गर्दै कानुनी पक्षमा परामर्श लिन उनीहरूलाई बोलाइएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको छ र त्यहाँ निर्वाचन प्रक्रिया सुरु भइसकेको छ।
पछिल्ला दुई दिनयता संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच छलफल भए पनि सहमति जुट्न नसकेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो। यही सन्दर्भमा बैठकमा कानुन व्यवसायीहरूलाई सहभागी गराएर परामर्श लिइएको जनाइएको छ।




















